कपिलवस्तु । सुरक्षा निकायको सक्रियताका कारण कपिलवस्तुमा पछिल्लो एक वर्षमा अवैध तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको छ। आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक वर्षको अवधिमा तस्करीका सामान र स्रोत नखुलेको नगदसहितको उल्लेखनीय मात्रामा बरामद भएको जानकारी दिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा झन्डै साढे ११ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका छन्। यस्तै, स्रोत नखुलेको सवा करोडभन्दा बढी नगद पनि नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रमुख अधिकारी दिलकुमार तामाङका अनुसार, भारतसँग जोडिएको ९३ किलोमिटर लामो खुला सीमामा कडाइ गरेपछि तस्करी नियन्त्रणमा सुधार देखिएको हो। “गत वर्षको तुलनामा बरामदको मात्रा उल्लेखनीय रूपमा बढेको छ,” प्रमुख जिल्ला अधिकारी तामाङले बताए। अघिल्लो वर्षको तुलनामा करिब ४ करोड रुपैयाँबराबरको बढी तस्करी रोकिएको जानकारी पनि उहाँले दिनुभयो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, नेपाल प्रहरीले मात्र ६ करोड ७५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। बरामद गरिएका वस्तुहरूमा २ करोड ३४ लाख बराबरका सवारी साधन, ९७ लाखको किराना सामान, १९ लाखको लत्ताकपडा, पशुचौपाया तथा कृषि सामग्रीहरू रहेका छन्। यस्तै, १ करोड २६ लाख रुपैयाँभन्दा बढी स्रोत नखुलेको नगद पनि बरामद गरिएको प्रहरी उपरीक्षक नरिञ्जन दत्त भट्टले जानकारी दिए।

सशस्त्र प्रहरी बलले समेत ४ करोड ९२ लाख रुपैयाँ बराबरका तस्करीका सामग्री नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीका अनुसार, बरामद सामानमा सवारी साधन, कपडा, किराना र दैनिक उपभोग्य वस्तुहरू प्रमुख छन्।

त्यसैगरी, सोही अवधिमा सशस्त्र प्रहरीले लागुऔषधसहित ४ जना र भारततर्फ अवैध रूपमा जान लागेका २ जना चिनियाँ नागरिकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी तामाङले भन्सार गस्ती टोलीको सक्रियता पनि बढेको बताउँदै तस्करी नियन्त्रणमा सबै निकायको समन्वयले सकारात्मक नतिजा दिएको धारणा राखे।