बाणगंगा, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ मा रहेको राजापानी सामुदायिक बनमा अतिक्रमण क्षेत्र हटाई वातावरण संरक्षण र हरियाली विस्तारको उद्देश्यले वृक्षारोपणको ठूलो अभियान सञ्चालन गरिएको छ।

यस अभियान अन्तर्गत करिब १८ हेक्टर क्षेत्रफलमा २८ हजार बिरुवा रोप्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ। हालसम्म ११ हजार बिरुवा रोपिसकिएको र साउन १५ गतेसम्म सम्पूर्ण वृक्षारोपण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको बनकी अध्यक्ष सितादेवी पौडेलले जानकारी दिइन्।

उनका अनुसार टिक, सिसौ, राजवृक्ष, मोरिङ्गा, बबुल, अर्जुन, जामुन, बाँस, बर, पिपल, सिरिस लगायत बहुउपयोगी र वातावरणमैत्री बिरुवा रोपिएको छ। बिरुवाहरूको सुरक्षाका लागि तारबारको व्यवस्था समेत गरिएको छ।

राजापानी सामुदायिक बनका सल्लाहकार तथा निवर्तमान अध्यक्ष ढाकाराम अधिकारीका अनुसार, वृक्षारोपण कार्यक्रममार्फत करिब ८० जना उपभोक्ताहरूले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।

बन अध्यक्ष पौडेलका अनुसार, “राजापानी सामुदायिक बनले बन संरक्षणसँगै सामाजिक विकासमा पनि अग्रसर भूमिका निर्वाह गर्दै आएको छ। उपभोक्ताहरूलाई काठ, दाउरा सहज रूपमा उपलब्ध गराउँदै आएको र शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवामा पनि निरन्तर काम गरिरहेको छ।”

यो सामुदायिक बन पर्यटन प्रवद्र्धनसँग पनि जोडिएको र पर्यावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण तथा स्रोतको दीगो व्यवस्थापनमा उदाहरणीय बन्न सफल भएको बताइएको छ।बुटवल–नारायणखण्डको पश्चिम बुटवल–गोरुसिगे सडक योजनाको लगानीमा गरिएको वृक्षारोपण कार्यप्रति अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गर्दै योजनाले बन क्षेत्रको हरियाली विस्तार र वातावरण सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्।

राजापानी सामुदायिक बन करिब ४५२.९४ हेक्टर क्षेत्रफलमा फैलिएको र यस अन्तर्गत २४०० घरधुरी उपभोक्ताहरू आबद्ध रहेका छन्।