कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित खसी बजारको शाह कम्प्लेक्स पछाडि रहेको मिना न्यौपानेको घरमा गएराति चोरी भएको छ । अज्ञात चोरहरुले घरभित्र पसी करिब ५ तोला सुन र भारतीय नगद ८० हजार रुपैयाँ चोरी गरेका छन् ।

पीडित मिना न्यौपानेले दिएको जानकारीअनुसार चोरले घरको नगद तथा गरगहना चोरेर लगेका हुन् । घटना लगत्तै प्रहरीलाई जानकारी गराइएको र हाल चोरीमा संलग्न गिरोहको खोजी कार्य तीव्र गतिमा भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्थानीय बासिन्दाहरुले पछिल्लो समय उक्त क्षेत्रमा चोरीका घटनामा बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । चोरी नियन्त्रण तथा सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने मागसमेत स्थानीयहरुले गरेका छन् ।