काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, काठमाडौंको पशुपति लगायतका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

हिन्दुधर्मालम्वीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान् शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् ।

यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, धतुरो, विभिन्न फूल, फल लगायतका प्रसाद चढाएर पूजा गर्दछन् ।

यसरी शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास छ ।

साउनको पहिलो सोमबारको दिन आज काठमाडौंको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा श्रद्धालुको घुइँचो लागेको छ । उनीहरु लामबद्ध भएर पूजाआजा गरिरहेका छन् ।