भैरहवा । रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली गरेको छ । गत वर्ष साउनदेखि असार मसान्तसम्म उक्त रकम संकलन गरेको हो । उक्त असुली लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको थियो । कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार गत वर्ष लक्ष्यको नजिक राजस्व संलकन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा असुलीमा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्ष ८० अर्ब ८४ करोड १७ लाख ४८ हजार राजस्व संलकन भएको थियो ।

सूचना अधिकारी चौधरीका अनुसार गत वर्ष पैठारीका आधारमा सबैभन्दा धेरै मोटरसाइकल आयात गरिएको थियो । उक्त अवधिमा १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजारका सबै प्रकारका १ लाख ४४ हजार १ सय ९४ थान मोटरसाइकल आयात गरिएको थियो । त्यसबापत १७ अर्ब २१ करोड २१ लाख २७ हजार राजस्व संकलन भएको थियो । दोस्रो नम्बरमा जिप, कार, भ्यान आयात गरिएको छ ।

गत वर्ष ४ अर्ब १५ करोड १५ लाख ३८ हजारका ३ हजार ७ सय ६१ थान यस्ता सवारीसाधन आयात गरिएको थियो । यसबाट १० अर्ब ३५ करोड ४७ लाख ९६ हजार राजश्व असुली भएको थियो ।