कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ डुमरा स्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ गइरहेको युपि ५५ एभि ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको रुखमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–६, गौरीगंज निवासी २४ वर्षीय मोटरसाइकल चालक मुस्ताक अहमद मुसलमान गम्भीर घाइते भई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममो चिकित्सकले मृत घोषणा गरेका छन्।

मोटरसाइकलमा सवार अर्का व्यक्ति २५ वर्षीय नैमुल्ला मुसलमान गम्भीर घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै सवारको हेलमेट प्रयोग नगरेको आशंका गरिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका निवर्तमान प्रवक्ता माधव बिश्वकर्माले वैखरी अनलाइनलाई जानकारी दिए ।