कपिलवस्तु । पछिल्लो समय अर्घाखाँची जिल्लाका विभिन्न गाउँहरूमा विकास निर्माणका कामहरू तीव्र गतिमा भइरहेका छन्। पहाडी भेगहरूबाट बसाईसराइ बढ्दै गइरहेका बेला स्थानीय स्तरमा भइरहेका विकास कार्यहरूले यो प्रवृत्तिमा रोक लगाउने विश्वास गरिएको छ।

बसाईसराइको समस्याले शितगंगा नगरपालिकालाई पनि प्रभाव पारेको छ। कपिलवस्तु जिल्लाको सिमानामा रहेको शितगंगा–१३ वडाले बसाईसराइ रोक्नका लागि विभिन्न विकल्पहरूको खोजी गर्दै आएको छ। विद्युत्, खानेपानी, सडकजस्ता आधारभूत सुविधाहरू विस्तार गर्दै वडाले स्थायित्वको वातावरण बनाउन अग्रसरता लिएको हो।

यसै सन्दर्भमा ‘म बनाउँछु मेरो गाउँ’ अभियान अन्तर्गत वडाकार्यालय नजिकै भोटेबजार नेचुरल पार्क निर्माण गरिएको छ। पार्कमा सबै उमेर समूहका नागरिकले रमाइलो गर्न सक्ने वातावरण तयार गरिएको छ, जहाँ फोटो–भिडियो खिच्नेदेखि प्रकृतिसँग घुलमिल हुने सुविधा उपलब्ध गराइएको छ।

सुपादेउराली मन्दिर दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि यो पार्क आकर्षणको नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यहाँबाट सिमलपानी क्षेत्रको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ।

वडा अध्यक्ष बि.सी.ले पार्क निर्माणपछि थप आकर्षक बनाउँदै लगिएको बताउँदै सबैलाई एकपटक आएर अवलोकन गर्न र सल्लाह–सुझाव दिन आग्रह गर्नुभएको छ।