कपिलवस्तु । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा पनि भारी वर्षाको हुन सक्ने छ ।

देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भेग तथा मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ । त्यसैगरी, बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू(भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले बुधबार बिहान जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन अनुरोध गरेको छ ।