कपिलवस्तु । दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटिभले कपिलवस्तु जिल्लाबाट ४ जिपिएसहित एसईई उर्तीण गर्ने मेधावी छात्र–छात्राहरूलाई सम्मान गरेको छ । जिल्लामा ४ जिपिए प्राप्त गर्ने १६ जना विधार्थीहरुसहित उनीहरुका अभिभावकहरुलाई शुक्रबार एक सम्मान समारोहकाबीच सम्मान गरिएको संस्थाका महासचिव आशिस शर्माले बताउनुभयो ।

महासचिव शर्माका अनुसार विधार्थीहरुलाई ट्याब र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।विधार्थीहरुलाई अहिलेको प्रविधियुक्त युगमा प्रविधसंग परिचित हुदैं अध्ययन गर्न सहजहोस् भन्ने उद्देश्यसहित विधार्थीहरुको हातहातमा ट्याब दिईएको उहाँको भनाई छ ।

ट्याबको उपयोगले सिकाइ प्रक्रिया सहज, रोचक र प्रभावकारी बनाउँने उहाँको विश्वास छ । ट्याब विद्यार्थीहरूको लागि स्मार्ट साथी जस्तै भएको भन्दै उहाँले यदि सही ढंगले प्रयोग गरियो भने यो शिक्षाको गुणस्तर सुधार र सीप विकास दुबैमा महत्वपूर्ण सहयोगीका रुपमा स्थापित हुन सक्ने बताउनुभयो ।

दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटिभका अध्यक्ष मिथिला शर्मा उपाध्यायले सम्पूर्ण विधार्थीहरुलाई बधाई तथा शुभकामना दिदैं यस्ता कार्यक्रमले मेहनती विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुका साथै अन्य विद्यार्थीहरूलाई पनि उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले किताबी ज्ञानले मात्र व्यक्ति सफल नहुने भन्दै आफुलाई आवश्यक ज्ञान, सिपसहितको दक्षता हासिल गर्ने दिशातर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, जनता मावि पिपराका प्रअ रमेश पन्थी, ज्ञानपुञ्ज ईग्लिस बोर्डिङ स्कुलका प्रअ सुरेन्द्र पाण्डे र बाणगंगा मावि लौगाईका प्रअ कुलराज पौडेलले कपिलवस्तु जिल्लामा बाणगंगा नगरपालिका शैक्षिक हबका रुपमा रहेको भन्दै अब बाणगंगालाई प्रदेशकै शैक्षिक हबको रुपमा विकास गर्ने आधार तयार हुदैं गएको बताउनुभएको थियो ।

यस्ता कार्यक्रमले शैक्षिक क्षेत्रप्रति विद्यार्थी, अभिभावक र समाजको चासो जगाउन अहम भूमिका निर्वाह गर्नुका साथै विधार्थीहरुमा थप विश्वास र ऊर्जा थप्ने उहाँहरुको अपेक्षा छ ।

जनता माध्यमिक विद्यालय पिपराको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूसहित उनीहरुका अभिभावक, विद्यालयका शिक्षक/शिक्षिका, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटिभका अध्यक्ष मिथिला शर्मा उपाध्यायको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमको संचालन पत्रकार अशोक पौडेलले गर्नुभएको थियो ।