पाल्पा । अविरल वर्षापछि खसेको पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा सडक अवरुद्ध भएको छ। बुधबार बिहान करिब १ घण्टा अघि खसेको पहिरोका कारण पोखरा–बुटवल, गुल्मी, बागलुङतर्फ जाने सवारी साधन बीच बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लका अनुसार पहिरो पन्छाउने प्रयास जारी भए पनि लगातारको वर्षाले समय लाग्ने देखिएको छ।

यसअघि बिहानै तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो। उक्त स्थानमा अहिले एकतर्फी रूपमा सवारी चल्न थालेको प्रहरीको भनाइ छ।

यहीबीच, पाल्पा–गुल्मी सडकसमेत अवरुद्ध बनेको छ। रिब्दीकोट गाउँपालिका–३ देउरालीस्थित मालमूलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको र त्यहाँ पनि पहिरो हटाउने काम जारी रहेको डीएसपी मल्लले बताए।

गुल्मी जानुपर्ने सवारी साधनहरू अर्गलीबाट रानीमहल हुँदै तानसेन हुँदै गन्तव्यतर्फ गइरहेका छन्। पहिरोका कारण सयौँ यात्रु, विद्यार्थी तथा यातायात मजदुर बीच बाटोमै अलपत्र परेका छन्।