काठमाडौँ । पश्चिम नवलपरासीको दाउन्ने खण्डस्थित खुर्सानी खोलानजिक सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान ५ बजेदेखि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन रोकिएका छन्।

बर्दघाट नगरपालिका–४ मा सडक भासिएपछि एक ट्रक समेत फसेको र त्यसकै कारण पूर्व–पश्चिम जाने दुवै दिशाका सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरदत्त पन्तले जानकारी दिए।

पूर्वतर्फ जाने सवारीसाधन बर्दघाटको टीसीएन चोकमा रोकिएका छन् भने पश्चिमतर्फ जान आउने सवारी दुम्किबासमा जाममा परेका छन्। सडक खुलाउने प्रयास जारी भए पनि लगातारको वर्षाका कारण समस्या थपिएको डीएसपी पन्तले बताए।

भासिएको स्थानमा वैकल्पिक बाटो निर्माणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत पर्ने करिब १४ किलोमिटर लामो दाउन्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेकाले सडक हिलाम्मे हुनु, भासिनु र आवागमनमा समस्या हुनु नियमितजस्तै बन्दै आएको छ।