बाणगंगा । बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहले “वन उद्यम, गरिबी न्यूनीकरण तथा महिला सशक्तिकरण लक्षित कार्यक्रम” अन्तर्गत एक दिने मौरीपालन तालिम तथा मौरीजन्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले स्थानीय तहबाट सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक भएको बताउँदै, महिलाहरूले स्वरोजगारमार्फत आत्मनिर्भर बन्न सक्ने उल्लेख गर्नुभयो। उहाँले मौरीपालनजस्ता कृषिमा आधारित घरेलु उद्यमले आर्थिक रूपान्तरणमा मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मुक्त बहादुर कार्कीले गर्नुभएको थियो। अध्यक्ष कार्कीले वन समूहले वन संरक्षणसँगै समुदायको आयआर्जन र सामाजिक रूपान्तरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै भन्नुभयो, “हामी महिलाहरूलाई सीपमार्फत सशक्त बनाउन चाहन्छौं, यो कार्यक्रम त्यसकै एउटा कदम हो।”

कार्यक्रमका प्रशिक्षक लिलापति घिमिरेले मौरीको जात, पालन विधि, मौरी घारको व्यवस्थापन, घार सरसफाइ, मह संकलन प्रक्रिया, रोग नियन्त्रण र मौरीजन्य उत्पादनबारे विस्तृत जानकारी दिनुभयो।

कार्यक्रमका विशेष अतिथि वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी बहादुर खत्रीले सामुदायिक वनहरूको विकासले स्थानीय उत्पादन, स्वावलम्बन र समृद्धिका लागि बाटो खोल्ने उल्लेख गर्नुभयो।

कार्यक्रमको स्वागत मन्तव्य वनका उपाध्यक्ष पुस्कर घिमिरेले गर्नुभएको थियो भने सञ्चालन सचिव गंगा भट्टराईले गर्नुभएको थियो।

कार्यक्रममा मौरीपालनमा रुचि राख्ने किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी किसानहरूलाई एक-एक थान मौरी घारसहित आवश्यक सामग्रीहरू वितरण गरिएको आयोजकले जनाएको छ।