रसुवा ।भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल–चीन सिमानास्थित मितेरी पुल बगाएको छ भने कम्तीमा १५ जना बेपत्ता भएका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, आज बिहान टिमुरे क्षेत्रको रसुवागढी भन्सार नजिकै आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बेपत्ता हुनेहरूमा तीन जना सुरक्षाकर्मी, ६ जना नेपाली कामदार, ४ जना चिनियाँ मजदुर र २ जना चालक छन्।

बाढीले नेपाल–चीनको सिमानामा रहेको मितेरी पुल पूर्ण रूपमा बगाएको छ। त्यहाँ पार्क गरिएको सयौँ ईभी (इलेक्ट्रिक) गाडीहरू पनि बगाएको प्रारम्भिक अनुमान गरिएको छ।

साथै, स्याफ्रुबेसीतर्फ जाने सडक तथा जलविद्युत आयोजनाका संरचनाहरूमा पनि ठूलो क्षति पुगेको जनाइएको छ।

यही सन्दर्भमा जिल्ला प्रशासन कार्यालय रसुवा, नुवाकोट र धादिङले त्रिशुली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। निरन्तर भारी वर्षाका कारण त्रिशुली नदीको बहाव बढ्न सक्ने भएकाले जोखिम क्षेत्रका बासिन्दालाई सजग रहन अनुरोध गरिएको छ।