कपिलवस्तु । रूपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपीनकुमार पाण्डेयलाई पनि पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।

वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिस गर्ने क्रममा वडाध्यक्ष यादवले नियमित रूपमा कमिसन माग गर्दै आएका थिए। सोही क्रममा पाण्डेयमार्फत् तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा यादवलाई रंगेहात पक्राउ गरिएको हो।दुवैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।