बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर पालिका घोषणा गरिएको छ। सोमबार एक विशेष समारोहका बीच लुम्बिनी प्रदेशसभा सांसद विष्णु पन्थी र जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले नगरप्रमुख चक्रपाणी अर्याल र उपप्रमुख रिता कुमारी चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै बाणगंगालाई दुधमा आत्मनिर्भर घोषणा गरेका हुन्।

नगरप्रमुख अर्यालका अनुसार नगरमा वार्षिक ८८ लाख ९७४ लिटर दुधको माग रहेकोमा हाल ९१ लाख २५ हजार ४४५ लिटर दुध उत्पादन भइरहेको छ। यसरी नगरमा ३ लाख २४ हजार लिटरभन्दा बढी दुध उत्पादन भइरहेको छ, जसको केही हिस्सा जिल्लाबाहिर पनि निर्यात हुँदै आएको छ।

प्रदेश सांसद पन्थीले बाणगंगाले विगत १० वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिमा उल्लेखनीय प्रगति गरेको बताउँदै अब अन्य पालिकालाई पनि समेटेर समग्र जिल्लाको विकास गर्नुपर्ने बताए। साथै, उनले जैविक मल उत्पादनमा समेत आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।

पशु शाखा प्रमुख राजकुमार तिवारीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८५ लाख २४ हजार लिटर दुध उत्पादन भएको थियो भने २०८०/८१ मा उक्त परिमाण ९१ लाख नाघेको छ। प्रति व्यक्ति वार्षिक आवश्यकताअनुसार ९१ लिटरको तुलनामा हाल ९४.३५ लिटर दुध उपलब्ध रहेको छ।

यसैबीच, नगरको वडा नं. २ लाई पूर्ण सरसफाइयुक्त तथा पूर्ण पोषणमैत्री वडा घोषणा गरिएको छ। त्यस्तै वडा नं. ५ र वडा नं. ८ लाई पोषणमैत्री दिगोपना वडा तथा पिपरा, गजेहडा र भलवाड स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषित गरिएको छ।