कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा एसईई तथा स्ववियु सम्मान कार्यक्रम–२०८२ यहि असार २१ गते शनिबार बाणगंगा नगरपालिका–२, पिपरामा हुने भएको छ।

कार्यक्रममा एसईई २०८१ मा ४.० जिपिए ल्याउने मेधावी विद्यार्थीहरू तथा स्ववियु निर्वाचनमा निर्वाचित भएका प्रतिनिधिहरूलाई सम्मान गरिनेछ। अनेरास्ववियु कपिलवस्तुका जिल्ला अध्यक्ष निशान खड्काका अनुसार, सम्मान कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुजन कडरिया प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।

यस्तै, कार्यक्रममा प्रमुख वक्ताका रूपमा अनेरास्ववियुका पूर्व अध्यक्ष, नेकपा एमालेका केन्द्रीय सदस्य तथा विद्यार्थी फाँट इञ्चार्ज किशोर बिक्रम मल्लको समेत विशेष उपस्थिति रहनेछ। उनीहरूले विद्यार्थी आन्दोलन, नेतृत्व निर्माण र संगठन सुदृढीकरणबारे मार्गदर्शन गर्नेछन्।

कार्यक्रमको प्रमुख उद्देश्य भनेको उत्कृष्ठ प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु तथा विद्यार्थी राजनीतिमा निर्वाचित भएका प्रतिनिधिहरूमा जिम्मेवारीबोध गराउँदै नेतृत्वदायी क्षमताको विकास गर्नु रहेको आयोजकले जनाएको छ।

सम्मानसँगै सहभागी विद्यार्थीहरूलाई नेतृत्व विकास, संगठनात्मक सुदृढीकरण तथा प्रगतिशील आन्दोलनबारे विशेष प्रशिक्षण समेत प्रदान गरिनेछ। अनेरास्ववियुले “देशभरिका सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त विद्यार्थीहरू एकजुट होऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी दिनमा यस्ता सशक्त र उद्देश्यपरक कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट प्रतिबद्धता जनाएको छ।