पशुपति गिरी , कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–६, गन्धर्व टोलका सञ्जु गन्धर्वका लागि मादल केवल बाजा होइन, जीवन गुजार्ने साधन हो । पछिल्लो एक दशकदेखि उनी मादल बनाउने सीपमा जीवन समर्पित गर्दै आएका छन्। सादा जीवन, सिपयुक्त विचार र स्वदेशमै केही गर्छु भन्ने अठोटले सञ्जुले आफ्नो कला जोगाइरहेका छन्।सञ्जु दाइको हातबाट बनेका मादलहरूमा नेपालीपन झल्किन्छ — ती मादलहरूमा हाम्रो संस्कृति, परम्परा र सन्देश समेटिएका छन्। उनले बनाउने मादलहरू पहाडदेखि तराईसम्म, सहरदेखि गाउँसम्म पुग्ने गर्छन्। मूल्य पनि रु. ४ हजारदेखि १५ हजारसम्मका हुन्छन् — गुणस्तरीय छालाको छनोट, राम्रा र बेजोड साउन्ड, अनि नेपाली हस्तकलाको उत्कृष्टता बोकेका।मादल मात्र होइन, सञ्जु गन्धर्व तबला, सारंगी, बासुरी, ढोलकीजस्ता परम्परागत वाद्ययन्त्रहरू पनि बनाउँछन्। “कसैले माग्यो भने म ठूला बाजा पनि बनाउन सक्छु,” उनी गर्वका साथ सुनाउँछन्।

तर यति मेहनत र प्रतिभा हुँदाहुँदै पनि, सरकारी तवरबाट उनको सीपलाई सम्मान वा सहयोग भने मिलेको छैन। “देशमै केही गरौँ भनेर काम थालेको हुँ, तर कहिलेकाहीँ लाग्छ, सीपवालाको मुल्य यहाँ बुझिँदैन,” उनी भन्छन्, आँखामा हल्का पीडा लुकाउँदै।सञ्जु गन्धर्वका मादलहरू अहिले भैरहवा, बुटवल, पाल्पा, चितवन, काठमाडौंसम्म पुग्ने गरेका छन्। केही सांगीतिक संस्थाहरू र कलाकारहरूले त उनलाई सिधै सम्पर्क गरेर अर्डर दिने गरेका छन्।

यिनै सञ्जु गन्धर्वको प्रतिभा र परिश्रमलाई देखेर नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष तथा समाजसेवी खेमराज शर्माले मादल बिक्रीमा सहयोग गर्नुका साथै उनलाई आत्मबल र हौसला समेत प्रदान गरेका छन्। सञ्जुको मेहनतलाई सम्मान गर्दै शर्माले स्थानीय स्तरमै यस्ता सीपको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
उनको काम हेर्ने जो कोही पनि अचम्म मान्छ — सादा गोठमा बसेर बनेका ती मादलहरूमा यस्तो मिठो ध्वनि कसरी आउँछ भनेर। त्यसको उत्तर छ — उनको समर्पणमा, उनको अनुभवमा र उनको हातको सीपमा।

“यदि सरकारले हाम्रो जस्तो सीपलाई संरक्षण र प्रवर्द्धन गरिदियो भने, विदेश पसेका थुप्रै नेपाली युवा पनि फर्केर आफ्नै माटोमा केही गर्न सक्छन्,” उनी आशाले भन्छन्।सञ्जु गन्धर्वजस्ता सीप भएका पात्रहरू हाम्रा गाउँ–सहरमा धेरै छन्, तर उनीहरूको कला, संघर्ष र योगदान छायाँमै सीमित छ। यस्ता प्रतिभा र परिश्रमको कदर गरिनु, संरक्षण गरिनु र प्रचार–प्रसार गरिनु आजको आवश्यकता हो।