कपिलवस्तु । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सञ्चालित १५ दिने बाँसजन्य सामग्री उत्पादन तालिम सम्पन्न भएको छ। होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा तथा सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको समापन सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यतामा गरिएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथि भुसालले बाँसबाट विभिन्न पर्यटकलाई आकर्षित गर्ने खालका सामग्री उत्पादन गर्न सकिने भन्दै यस्ता तालिमहरू अत्यन्त प्रभावकारी हुने धारणा राख्नुभयो। उहाँले परम्परागत शैलीमा बनाइने सामग्रीभन्दा आधुनिक ढंगले उत्पादन गरिने बाँसजन्य वस्तुहरू बजारमा बढी बिक्री हुने भएकाले व्यवसायिक सम्भावना पनि उज्यालो रहेको बताउनुभयो।

त्यसैगरी, वडा नं.१ का अध्यक्ष माधव श्रेष्ठले खेर गइरहेका बाँसहरूलाई सही रूपमा उपयोग गर्न सके रोजगारी सिर्जना हुने उल्लेख गर्नुभयो। उहाँले यस्ता तालिमहरूलाई उपयोगी भन्दै होटल तथा पर्यटन व्यवसायी संघलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, तालिमपछि उद्योग सञ्चालन गर्न इच्छुक भएकालाई हाटबजार क्षेत्रमा स्टलको व्यवस्था गरिदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले बाँसलाई ‘हरियो सुन’ को उपमा दिँदै सहभागीहरूलाई यसको सही उपयोगमार्फत आम्दानी बढाउन प्रेरित गर्नुभयो। सहभागीहरूले सक्रिय रूपमा तालिममा सहभागिता जनाएकोमा खुशी व्यक्त गर्दै उहाँले यति छोटो अवधिमा नै सामग्री उत्पादन सिक्न सफल भएको र उहाँहरुलाई संघले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको प्रारम्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बाबुराम धिमिरे, प्रमुख प्रशिक्षक लेखबहादुर श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।उक्त तालिम जेठ १६ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको थियो।