कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस(२०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पुर्‍याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताए

जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।जेठ १५ गते मूल समारोहअन्तर्गत जनसहभागितामा झाँकी सहित भव्य रूपमा प्रभात फेरीको आयोजना गरिनेछ ।बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभात फेरीपछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान सहित समापन गरिने छ । यसैगरी जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिने छ ।