पशुपति गिरी, वाणगंगा। वाणगंगा नगरपालिका–८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समूह नगरपालिकासँगको सहकार्यमा बोडगाउँ बजार क्षेत्रलगायत विभिन्न स्थानमा कुलो तथा कलपड निर्माण गर्दैछ। सामाजिक विकास र डुबान न्यूनीकरणलाई लक्षित गरी अगाडि बढाइएको यो अभियानले स्थानीय बासिन्दामा राहतको अनुभूति गराएको छ।

बर्खायाममा बोडगाउँको मुख्य बजार क्षेत्र बारम्बार डुबानमा पर्न थालेपछि स्थानीयवासी वर्षा सुरु हुनुअघि नै चिन्तित हुने गर्थे। हाल सामुदायिक वनको सक्रियतामा निर्माण भइरहेको मुल कुलोले अब यस्तो समस्या दोहोरिन नदिने नव प्रभात सामुदायिक वनका अध्यक्ष डिल्लीराज रेग्मीले विश्वास व्यक्त गरेका छन्।

कुल ८० लाख रुपैयाँको लागतमा भइरहेको यस योजनामा नगरपालिका बाट ४० लाख र सामुदायिक वनबाट ४० लाख रुपैयाँ बराबरको सयुंक्त लगानी गरिएको छ। योजनाअन्तर्गत लौगाइको झरेनियामा करिब ६०० मिटर मुल कुलो, बोडगाउँ बजार क्षेत्रमा १७५ मिटर मुल कुलो, साथै बन्डौली र बालापुर क्षेत्रमा पनि कुलो तथा कलपड निर्माण कार्य अघि बढाइएको र नगरपालिकाले आवश्यक समन्वय र सहकार्य प्रदान गरिरहेको वनका अध्यक्ष रेग्मीले जानकारी दिएका छन् ।

९६३ घरधुरी आवद्ध समूहले ३७७।६३ हेक्टर वन क्षेत्रको संरक्षणसँगै सामाजिक पूर्वाधार निर्माणमा समेत सक्रिय भूमिका खेल्दै आएको छ। सामुदायिक वन केवल संरक्षणमा सीमित छैन, यसले स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यसहित सिँचाइ, सडक, उज्यालो गाउँ, सीप विकास, आयआर्जन जस्ता क्षेत्रमा पनि काम गरिरहेको छ, अध्यक्ष रेग्मीले बताए।

स्थानीय तहसँगको सहकार्यमा गरिएको यस प्रयासले बोडगाउँ क्षेत्रलाई डुबानको त्रासबाट मुक्त गराउनुका साथै दीर्घकालीन विकासमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ।