कपिलवस्तु । बाणगंगा नगरपालिका–२ मा पर्ने लालमटिया सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई सिपमूलक तालिम अन्तर्गत महिला उद्यम विकासका लागी कुसन तथा डल सिकाई तालिम सञ्चालन गरेको छ । उक्त तालिम २०८२ साल वैशाख २८ गते देखी जेठ १६ गते सम्म सञ्चालन गर्ने वनका अध्यक्ष गिरधारी थारुले जानकारी दिनु भयो ।

रोजगारका लागि जुन सुकै ठाउँमा गए पनि सहजै रोजगारी र राम्रो ज्याला पाउन भन्ने उद्देश्यका साथ तालिम दिइरहेको वनका अध्यक्ष थारुले बताउनु भयो ।
उहाँले भन्नुभयो “हामीले तालिमको आयोजना आफ्नै ठाउँमै रोजगारीको सम्भावना बढाउनका लागि पनि गरेका हौं।

वन ऐन अनुसार सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना बमोजिम आर्जन गरेको वार्षिक आयबाट वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरि बाँकि रहेको रकमको केहि प्रतिशत रकम सम्बन्धित स्थानीय तह संग समन्वय गरि गरिबि न्यूनिकरण, महिला शशक्तिकरण तथा उद्यम बिकास कार्यमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार सिप मूलक तालिम दिन थालिएको अध्यक्षले बताउनु भयो ।

करिब ३ लाखको लगानीमा वार्षिक कार्ययोजना अन्तर्गतको उक्त कार्यक्रममा ३२ जनालाई सिपमूलक तालिम प्रदान गरिरहेको वनकी सचिव विपना पौडेलले बताउनु भएको छ ।१९४ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वनमा ३३९ उपभोक्ताहरु रहेका छन् ।