कपिलवस्तु । २५६९ औं बुद्ध जयन्तीको पावन अवसरमा सञ्चारिका समूह कपिलवस्तुले मानवीय सेवाको उदाहरणीय कार्य प्रस्तुत गरेको छ। समूहले सोमबार बाणगंगा १ स्थित कपिलवस्तु सामुदायिक डायलासिस सेन्टरमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो।कार्यक्रममा सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष सरिता थारुले बिरामीहरूको सेवामा समर्पित हुन पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो। प्रायः अरूको हकहितमा कलम चलाउने महिला पत्रकारहरू आफ्नै समस्यामा भने कम ध्यान दिने गरेको उनको गुनासो थियो।

कपिलवस्तु सामुदायिक डायलासिस सेन्टरकी म्यानेजर पुजा राना भाटले हाल सेन्टरमा ७१ जना नियमित बिरामीले डायलासिस सेवा लिइरहेको जानकारी दिइन्। सञ्चारिका समूहको फलफूल वितरण कार्यक्रम सकारात्मक रहेको बताउँदै उनले आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमको अपेक्षा राखिन्। कपिलवस्तु जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि जनक बेल्बासेले कार्यक्रमले आफूलाई खुसी तुल्याएको बताए। उनले जिल्लामा महिला पत्रकारको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे।

सञ्चारिका समूह कपिलवस्तुकी अध्यक्ष कोपिला पोख्रेलले संस्था सधैं महिला र पिछडिएका समुदायका मुद्दामा सक्रिय रहेको बताइन्। यसपटक भने डायलासिसका बिरामीलाई फलफूल वितरण गरेर फरक किसिमको कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिइन्।डायलासिस गराइरहेका बिरामीहरूको स्वास्थ्यमा फलफूलले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै अध्यक्ष पोख्रेलले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइन्। संस्थाकी अध्यक्ष कोपिला पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भगवती न्यौपानेले गरेकी थिइन्। कार्यक्रममा समूहका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।