वाणगंगा ।वाणगंगा नगरपालिका वडा नं. ९ मा रहेको अमृते सामुदायिक वन उपभोक्ता समूहले वडाको सहकार्यमा सामाजिक विकासको उद्देश्यसहित ७७० मिटर सडक कालोपत्रे गरेको छ। उक्त निर्माण कार्य वडाबाट २० लाख र सामुदायिक वनबाट २० लाख, गरी कुल ४० लाख रुपैयाँको संयुक्त लगानीमा सम्पन्न भएको हो।

वन उपभोक्ता समूहका अध्यक्ष योगेन्द्र पौडेलका अनुसार, ३०९ घरधुरी र ३२६.३७ हेक्टर क्षेत्रफलमा फैलिएको अमृते सामुदायिक वनले वडा कार्यालयसँग सहकार्य गर्दै विभिन्न पूर्वाधार विकासका कामहरू गर्दै आएको छ।

उनले बताएअनुसार वनले हालसम्म कृषि क्षेत्रमा सिँचाइ कुलो तथा नहर निर्माण, उज्यालो गाउँ कार्यक्रम सञ्चालन, सडक विस्तार तथा स्तरोन्नति, आयआर्जन, क्षमता विकास जस्ता कार्यमा समेत सक्रियता देखाएको छ।अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा वन क्षेत्रको संरक्षणसहित स्थानीय स्तरको समग्र विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गर्नुभयो।