कपिलवस्तु । नेपाल किसान ट्रेक्टर समितिको २०औं वार्षिक साधारण सभा सकिएको छ । उक्त कार्यक्रम समितिको बाणगंगा नगरपालिका ८ पुलचोकमा अवस्थित कार्यालयमा सम्पन्न भएको हो ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले किसानहरूको आर्थिक तथा सामाजिक समृद्धिका लागि आधुनिक कृषियन्त्रहरू विशेष गरी ट्र्याक्टरको भूमिकालाई अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले किसानको परिश्रमलाई सहज बनाउन र उत्पादनमा वृद्धि गर्न ट्र्याक्टरजस्ता कृषियन्त्रको सही प्रयोगले मात्रै अपेक्षित परिणाम प्राप्त गर्न सकिने बताउनुभयो ।
उहाँले किसानका लागि प्रदान गरिएका ट्र्याक्टर तथा अन्य उपकरणहरूको उपयोगिता सुनिश्चित गर्दै ती उपकरणहरू खेतीपाती बाहेकका काममा प्रयोग हुन नदिन सम्बन्धित निकाय र समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । पन्थीले यस्ता साधनहरूको उपयोगमार्फत कृषि क्षेत्रमा नयाँ आयाम थप्ने र उत्पादनशीलतालाई आधुनिक दिशामा लैजाने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
साथै, उहाँले प्रदेश सरकार तथा स्थानीय तहहरूलाई कृषि यान्त्रीकरणको प्रक्रिया तीव्र बनाउँदै किसानहरूको सशक्तीकरणका लागि थप अनुदान, प्रशिक्षण कार्यक्रम र सहुलियत दरमा उपकरण उपलब्ध गराउने व्यवस्था गर्न पनि सुझाव दिनुभयो ।
समितिका अध्यक्ष झविन्द्र खनालले अध्यक्षको प्रतिवदेन राख्दै कृषि पेशालाई आधुनिकिकरण गर्नको लागि ट्रेक्टरको प्रयोगलाई व्यवस्थित गराउन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा समितिका महासचिव विष्णु गिरीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिलन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।