कपिलवस्तु । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् ।राजदूत हाश्मीले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।भेटमा अध्यक्ष दाहालले नेपाल–पाकिस्तान कूटनीतिक सम्बन्ध ६ दशक पूरा भए पनि जनस्तरको सम्बन्ध वर्षौं पुरानो रहेको बताए ।
विभिन्न क्षेत्रीय र बहुपक्षीय फोरमहरुमा नेपाल–पाकिस्तान मिलेर काम गरिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले दक्षिण एसियाली सहयोग संगठन सार्कको अध्यक्षको हैसियतले नेपालले पाकिस्तानलाई अध्यक्षता सुम्पिन आतुर रहेको बताए ।नेपालको संघीय संसदले नेपाल–पाकिस्तान मैत्री समूह गठन गरेको जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास अनुभव आदान प्रदान र सहकार्यका लागि संसदीय समूहको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए ।पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दुई देशबीच कृषि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य फलदायी हुने बताए ।