काठमाडौं,२२ भदौ । २१ औँ निजामती सेवा दिवस शनिबार मनाइँदैछ। तीन वर्षदेखि ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ यो दिवस मनाउने गरिएको छ।२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउने गरेको हो। प्रत्येक वर्ष दिवस मनाइरहँदा निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने सन्तुष्ट छैनन्।

प्रशासन तथा कानूनविद् काशीराज दाहाल अस्थिर राजनीति र कमजोर मनोबल भएको कर्मचारी प्रशासनले गर्दा नतिजामुखी निजामती प्रशासन बन्न नसकेको बताउँछन्। उनका अनुसार मुलुकले संघीय शासनव्यवस्था कार्यान्वयन गरे पनि धेरै कर्मचारीले केन्द्रीकृत मानसिकतालाई नै आत्मसात् गरेकाले निजामती प्रशासन प्रभावकारी बन्न नसकेको हो।

संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा वृत्तिविकास अवरुद्ध भएकाले कर्मचारी उत्साहित भएर सेवा प्रदान गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बताउँछ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारीको मनोबल कमजोर बनेको बताउँछन्। स्थायी सरकारको रूपमा रहेका कर्मचारी संयन्त्रले राम्रो काम गर्दा मात्र सरकारको छवि राम्रो बन्ने उनको बुझाइ छ। चाँडै ऐन जारी गरी कर्मचारीको मनोबल उच्च पार्न आफू लागिपरेको उनले बताए।मन्त्रालयका सचिव भरतमणि सुवेदी अबको निजामती प्रशासनलाई प्रविधिमैत्री बनाएर सरल र सहज रूपमा सेवा प्रवाह गर्नुपर्ने बताउँछन्। निजामती प्रशासन राजनीतिक दबाब, प्रभाव, भ्रष्टाचार, अनुशासनहीनताबाट टाढा रहनुपर्ने उनको भनाइ छ।