कपिलवस्तु ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर– १ जमुनाह टोलका दुई दाजुभाइलाई विषालु सर्पले डसेको छ ।
स्थानीय सन्तोषकुमार कसोधनका दुई छोराहरूलाई आइतबार राति सर्पले डस्दा १३ वर्षका समर चिरागको मृत्यु भएको छ । यस्तै, १४ वर्षका राजको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । राजको अवस्था पनि चिन्ताजनक भएको बुवा सन्तोषले बताए ।
राति दुवै जना घरमा सुतेका र बिहान अबेरसम्म नउठेपछि हेर्दा दुवै अचेत अवस्था रहेका थिए ।उनीहरूलाई उपचारका लागि सोमबार शुरूमा तौलिहवा अस्पताल लगिएको थियो । चिरागको सोही अस्पतालमा निधन भएको हो ।
त्यसपछि राजलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल ल्याइएको हो ।बुटवल ल्याएर ब्लड जाँच गराउँदा मात्रै उनीहरूलाई सर्पले डसेको थाहा भएको थियो ।
कपिलवस्तुका डाक्टरहरूले आफूहरूलाई अल्झाउँदा छोरा चिरागको मृत्यु भएको सन्तोषले आरोप लगाए ।मृतक चिराग बर्गदवास्थित भगवानदास माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । घाइते राज कक्षा ८ मा अध्ययनरत छन् ।
वर्षायाम शुरू भएसँगै तराईमा विषालु सर्पको बिगबिगी छ । यता कपिलवस्तु प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले उक्त घटनाबारे प्रहरीलाई जानकारी नभएको बताए ।