काठमाडौँ ।
निर्वाचन आयोगले आगामी मंसिरमा उपनिर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्तहरुको भेटमा प्रधानमन्त्रीसँग यस्तो प्रस्ताव गरिएको हो।
सोमबार स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएपछि आयोगले यस्तो प्रस्ताव गरेको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको आयोगले जनाएको छ।
प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका छन्। मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ । छलफलमा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए।