काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका कतिपय भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको हो।
दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एकदुई स्थानमा अति वर्षाको समेत सम्भावना छ ।
राति पनि कोशी, मधेश, बगमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिदेखि नै लुम्बिनी प्रदेशका कपिलवस्तु सहित तराईका जिल्लामा भारी वर्षा भैरहेको छ।
जल तथा मौसम बिभागले कपिलबस्तु जिल्ला स्थित कोइली वाणागंगा खोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरू साँझ सम्म उच्च सतर्कता अपनाउन Sms मार्फत आग्रह गरेको छ
महाशाखाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन आग्रह गरेको छ ।