काठमाण्डौ ।
हाल (शनिबार साँझ) कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक- दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पनि कोसी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोसी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार साँझ ६ बजे जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। महाशाखाका अनुसार विगत २४ घण्टामा विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
त्यस्तै गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत आसपास तथा लुम्बिनी प्रदेशका पाल्पा, दाङ, अर्घाखाँचीलगायत स्थानमा अति भारी वर्षा (२०० मिलिमिटरभन्दा बढी) समेत भएको छ। पाल्पाको कुमालगाउँमा त ४०० मिलिमिटरभन्दा पनि बढी वर्षा मापन भएको छ। मौसम महाशाखाले सचेत गराउँदै भनेको छ- ‘अझै पनि वर्षा हुने सम्भावना रहेकाले आज र भोलि विशेष उच्च सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। यस्तै धेरै, थोरै तथा एकरदुई स्थान भन्नाले सम्बन्धित प्रदेशभरि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ।