बुटवल ।
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पारित भएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रममाथि छलफल गर्नुका साथै पारित गरेको हो ।
प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका गरी २० सदस्यले आफ्नो धारणा राखेका थिए । छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री जोखबहादुर महराले दिएसँगै सभामा निर्णयार्थ पेस गरिएको थियो । नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो ।
सोमबार प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम पेस गरेका थिए । नीति तथा कार्यक्रम पेस भएको भोलिपल्टै प्रदेश सभाले छलफलको औपचारिकता पूरा गरी पारितसमेत गरेको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षका सांसदले प्रदेश सरकारले अघि सारेका योजनाको बचाउ गरेका थिए भने विपक्षी दलले आलोचना गरेका थिए ।
मुख्यमन्त्री महराले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा नीति तथा कार्यक्रममा सबै विषय नसमेटिए पनि प्रदेश सभामा उठेका कतिपय महत्त्वपूर्ण विषयलाई सरकारले प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।