काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ।शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचीमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरूले उठेर विरोध जनाएसँगै बैठक स्थगित भएको हो। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लामो समय यता उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।
संसदीय छानबिन समिति नबनेसम्म बैठक अघि बढ्न नसक्ने भन्दै काँग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ। सभाको बैठकमा बोल्दै अध्यक्ष नारायणप्रसाद दाहालले सभाको परिस्थिति राजनीतिक रूपमा पेचिलो बन्दै गएको बताए। अहिलेको स्थितिले भोलिको दिनमा कस्तो पाठ सिक्ने भन्नेबारेमा गम्भीर बन्न जरुरी रहेको बताए।
नीति तथा कार्यक्रम अवरोधका कारण छलफल हुन नसकेको बताए। पहिला संसद्को लोगो फुकालेर सार्वजनिक सवारीसाधनमा चढ्नुपर्ने स्थिति रहे पनि अहिले त्योभन्दा गम्भीर स्थिति सिर्जना भएको बताए। उनले जनताले बाटोबाटोमा यी सांसदहरू भत्ता खाने र काम नगर्ने हुन् भनेर फोटो टाँस्ने स्थिति आउनसक्ने बताए। राष्ट्रियसभाको अर्को बैठक जेठ १३ गते आइतवार बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ।