पशुपति गिरी,कपिलवस्तु।
“कारागारका बन्दीहरूको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ” भन्ने मुल नारा सहित होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले इलाका प्रहरी कार्यालय पिपराको हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको छ ।समुदायस्तरमा आवश्यकता अनुसारका क्षेत्रहरुमा सहयोग गर्दै,व्यावसाी,सामाजिक र मानवीय सेवाको क्षेत्रमा पनि क्रियाशील रहेको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले बुधवार सामाजिक उत्तरदायित्वअन्तर्गत हिरासत कक्षमा रहेका थुनुवा, प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूका साथै थुनुवालाई भेट्न आउनेहरूलाई समेत लक्षित गरी पुस्तकालयको स्थापना गरेको हो ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले पुस्तकहरुको अध्ययनले बौद्धिक विकासका साथै सोचमा सन्तुलन, आचरणमा परिवर्तन र एकाकीपन मेटन सहयोग पुग्ने भएकोले पुस्तकालय स्थापना गरिएको बताउनु भयो । अध्यक्ष पौडेलले कैदी हुँदैमा अपराधीको हिसावले हेर्न नहुने र उनीहरुलाई पनि सम्मान गर्नुपर्ने धारणाका साथ विभिन्न कला साहित्य, सफल जिन्दगीका कथा, आम सञ्चार, मानव अधिकार, कानुन लगायतका पुस्तकहरू अध्ययन गर्न दिँदा मानसिकरुपमा सकारात्मक सोचले परिवर्तन हुने र अपराधीक क्रियाकलाप मा समेत न्यूनिकरण हुने बताउनु भइको छ । उहाँले विभिन्न मुद्दाका कारागारमा वर्षौँसम्म बाहिरी संसार नियाल्न नपाएका तथा बन्दी जीवन बिताइरहेका कैदीहरूका लागि होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुले पुस्तकालय बनाउने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय पिपराबाट सुरू गरिएको र यो अभियान कपिलवस्तु जिल्लाका सम्पूर्ण इलाकाहरुमा गर्ने जानकारी गर्नुभएको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले विभिन्न मुद्दामा थुनुवा भएका र वर्षौँसम्म बाहिरी संसार नियाल्न नपाएका तथा बन्दी जीवन बिताइरहेका कैदीहरूका लागि पुस्तक अध्ययन गर्नाले सकारात्मक परिवर्तन देखिने बताए । उनले त्यस्ता खालका पुस्तक भएमा इलाका प्रहरी कार्यालय पिपरामा सहयोग गर्न आग्रह गरे ।