काठमाण्डौ ।

कांग्रेसको आजबाट सांगठनिक सुदृढीकरणलक्षित ‘समुदायमा कांग्रेस’ अभियान सुरु हुने भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित २६ माघसम्म अभियान सञ्चालन हुनेछ । अभियानमा समुदाय तहमा जनस्तरका समस्याबारे जानकारी लिएर समाधान गर्नेदेखि कांग्रेसको नीतिअनुसार सुझाव संकलन गरिने उनले बताए ।

अभियानका क्रममा स्थानीयस्तरमा सेवा प्रवाह, विकास निर्माण र समुदायमा भएका असल अभ्यासबारे समेत जानकारी लिइने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले अभियानलाई आसन ग्रहण र मन्तव्यरहित बनाइने बताएको छ । ‘अभियान वडाकेन्द्रित रहनेछ ।सहिद दिवसको दिनबाट अभियानको पहिलो चरण सुरु हुनेछ । २६ माघमा सुशील कोइरालाको स्मृति दिवसको दिन पारेर समापन गरिनेछ । औपचारिक आसन ग्रहण र मन्तव्यलगायतका कार्यक्रम हुनेछैनन् । जनस्तरका गुनासा र सुझाव संकलनमा केन्द्रित हुनेछ,’ उनले भने ।

अभियानलाई समन्वयका लागि केन्द्रीय प्रतिनिधिलाई जिल्लामा खटाइसकिएको छ । ७ फागुनमा नीति अधिवेशनसमेत गर्ने गरी महासमिति बैठक हुँदै छ । कांग्रेसले सांगठनिक सुदृढीकरणको लक्ष्यसहित अभियानलाई वार्षिक कार्यतालिकामा समावेश गरेको थियो । यसअघि पटकपटक तय भएर सर्दै आएको अभियान पछिल्लो समय राष्ट्रिय सभा निर्वाचनका कारण सरेको थियो ।४ साउनमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको वार्षिक कार्ययोजना पारित गर्दै १० देखि २४ भदौसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, वर्षा, रुकुम पश्चिम र जाजरकोटमा आएको भूकम्पलगायतका कारण देखाउँदै अभियान अनिश्चित बनेको थियो । १४ पुसमा सम्पन्न केन्द्रीय समिति बैठकले ७ देखि २२ माघसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।