बुटवल । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्थाविरुद्ध नयाँ अभियान सुरुवात हुने घोषणा गरेका छन् ।

आज बुटवलमा आयोजना गरिएको ‘अञ्चलस्तरीय‘ कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँ अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै व्यवस्था परिवर्तन भएको बखत जनताको बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्ने बताएका हुन् । 

उनले फागुन १ गते हुने नयाँ अभियानको स्वरूप भने स्पष्ट पारेनन् । प्रसाईँले अहिले देश तस्कर र सीमित मारवाडी समूहको कब्जामा रहेको दाबी गर्दै बैङ्क तथा वित्तीय संस्थाको कारण जनता मर्ने वातावरणबाट बचाउनको लागि अहिलेको अभियान भएको बताएका थिए । 

उनले देश यस्तो हुनुमा ठुला दलको हात रहेको पनि आरोप लगाए। अहिले मुलुक प्रदेशमा गए पनि उनीहरूले साबिक अञ्चललाई नै मान्नु पर्ने भन्दै अञ्चलस्तरीय कार्यक्रम बुटवलमा गरेका थिए । उनले राप्रपालाई नेकपा एमालेको भातृ संस्थाको संज्ञा दिँदै  कोशी प्रदेशमा गरेको समर्थन पनि यही भएको बताए।