काठमाडौं ।

दोलखामा सुक्खा पहिरो खसेर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा विगु गाउँपालिका–१ का २२ वर्षीय कुसङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। त्यस्तै विगु गाउँपालिकाकै २८ वर्षीय दिल कुमार तामाङ र ५८ वर्षीय रस्थाङ तामाङ घाइते भएका छन्।

मृतक र घाइते तीनै जना नासा हाइड्रोपावरका मजदुर रहेका छन्। पहिरोका कारण सडक अवरुद्ध भएपछि अहिले घाइतेहरूको उद्धार हुन सकिरहेको छैन।हेलिकोप्टर झिकाइए पनि मौसमसमेत प्रतिकूल भएकाले सम्भव नभएको प्रहरीले बताएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र मजदुरहरूले घाइतेको उद्धार गर्ने प्रयास गरिरहेका छन्।

सोमबार दिउँसो पौने ३ बजे विगु गाउँपालिका–१ देउरालीमा नासा हाइड्रोपावरका ३५ जना कामदारले काम गरिरहेका बेला माथिबाट सुक्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दोलखा सञ्चार शाखाले जनाएको छ ।