दाङ ।

नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत दाङ जिल्लामा सीमा स्तम्भ मर्मतको काम सुरु भएको छ। दाङ खण्ड स्थित ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन्। जसमध्ये भारतले जोड नम्बरका र नेपालले बिजोड नम्बरका सीमा स्तम्भ मर्मत गर्न थालेका हुन्।

भारतले सीमा स्तम्भ मर्मतको काम सकिसकेको छ भने नेपालले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको नेपाल सशस्त्र प्रहरी बल २९ नम्बर हेड क्वाटर ज्वालामाई गण भालुबाङका प्रमुख एसपी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए।

सीमा स्तम्भ मर्मत, रंगरोहन गर्ने काम हुने छ।यस आर्थिक वर्षमा जिल्ला भित्रका ३५ वटा सीमा स्तम्भ रंगरोहन र सामान्य मर्मत गरिँदैछ। ३१ वटा सीमा स्तम्भ रंगरोहन र ४ वटा सीमा स्तम्भमा २५ प्रतिशत क्षति भएकाले त्यसको मर्मत गरिने छ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, नापी विभागका नापी अधिकृत पवनकुमार खत्री, सशस्त्र प्रहरीका एसपी गोपालप्रसाद श्रेष्ठ, भारतीय सीमा सुरक्षा बल एसएसवीका बलरामपुर जिल्ला प्रमुख डिएसपी तेजकुमार, वडा अध्यक्ष अब्दुल खालीक सिद्धिकी लगायतको उपस्थिति थियो।गढवा गाउँपालिका ८ कोइलावासमा रहेको नेपाल(भारत छुट्याउने सीमा स्तम्भ रंगरोहन गरेर मर्मत कार्य सुरु गरिएको हो।

२०७७ साल साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले मर्मत गर्नुपर्ने सीमास्तम्भको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पिएको थियो। सोही निर्णयको आधारमा पाँच वर्षपछि पहिलो पटक सीमा स्तम्भ मर्मतको काम हुँदै छ।लुम्बिनी प्रदेशभित्र पर्ने तराईका अन्य जिल्लाहरूमा समेत सीमा स्तम्भ मर्मतका काम चलिरहेको हो। यसअघि नापी विभागबाट सीमा स्तम्भ मर्मत गरिन्थ्यो। यसपटक मर्मतको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ।

दाङ खण्डमा भारतका दुई जिल्लाको सीमा क्षेत्र पर्छ। ६३ किलोमिटर क्षेत्र भारतको वलरामपुर र २० किलोमिटर सरावस्ती जिल्लाको क्षेत्र पर्दछ। दाङको पूर्वमा कपिलवस्तु र पश्चिममा बाँके जिल्लासँग सीमा जोडिएको छ।

जिल्लामा मुख्य र सहायक गरी दुई प्रकारका मात्रै सीमा स्तम्भ छन्। मुख्य स्तम्भ ३७ वटा र ४० वटा सहायक स्तम्भ छन्। २०७४ सालतिर यीमध्ये ६७ वटा स्तम्भ जीर्ण थिए। ती सीमा स्तम्भ उतिबेला मर्मत गरेर तयार पारिएको थियो। ६०१ नम्बरको स्तम्भ पुनर्निर्माण गरिएको थियो भने ४८ नम्बरको स्तम्भ खोलाले बगाएको थियो।

अहिले सम्म खोलाले बगाएको स्तम्भ निर्माण गर्न सकिएको छैन। सीमा क्षेत्रमा तीन प्रकारका स्तम्भ बनाइएका छन्। मुख्य स्तम्भ जग्गे पिल्लर, मध्यम खालको सहायक स्तम्भ र सानो आकारको रहेका छन्।