काठमाडौं । प्रशासनले दुर्गा प्रसाईंको अभियानलाई प्रदर्शनका लागि तोकेको स्थान बल्खु क्षेत्रमा युवा संघ र प्रसाई समर्थकबीच झडप भएको छ । 

युवा संघ दुर्गा प्रसाईका समर्थकबीच काठमाडौँमा झडप भएको छ। बल्खुमा प्रसाई समर्थकले प्रदर्शन गर्ने ठाउँमा युवा संघका कार्यकर्ता पुगेपछि झडप भएको हो। अहिले ढुंगामुढा भएको छ। युवा संघका कार्यकर्ताले प्रसाईका समर्थकलाई हातपात गरेपछि झडपको सिर्जना भएको हो।युवा संघका कार्यकर्ताले सडकमा हिँडिरहेका सर्वसाधारणमाथि पनि हातपात गरेका छन्। यस्तै उनीहरूले सवारी तोडफोड गरिरहेका छन्। कीर्तिपुरबाट तीनकुने आउँदै गरेका युवा संघका कार्यकर्ताले बल्खुमा भेला भएका प्रसाई समर्थकमाथि आक्रमण गरेका हुन्।

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बन्दै गएको छ। 

प्रहरीले माइकिङ गरेर उनीहरुलाई आ-आफ्नो कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ । प्रशासनले प्रसाईंलाई बल्खु चोक र युवा संघको लागि तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकेको छ । जुलुस प्रदर्शनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएको छ। दुवै पक्षको झडपको स्थिति हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।