चितवन ।
गणतन्त्र दिवसका अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एक जना व्यक्तिलाई अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको छ ।
९ वर्षको कैद सजाय पाएर जेलमा बसेका तर असल चालचलन भन्दै कैद सजाय छुट पाएर जेलबाट निस्केका भरतपुर महानगरपालिका वडा नं.९ का ५५ वर्षीय रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापामाथि २५ लाख रुपैयाँ नदिए भरतपुर महानगरपालिका-१ का सोमराज सुवेदी र उनका १३ वर्षीय छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ ।सुवेदीले भरतपुर १ मा धनवन्तरी मेडिकल सञ्चालन गर्दै आएका छन् । थापाले सुवेदीलाई फोन गरेर २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीको भनाइ छ ।प्रहरीले उनलाई भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार आरोपित थापाले हिन्दी भाषामा बोलेर सुवेदीलाई धम्क्याएका थिए । ‘थापाको विगत हेर्दा पटक(पटक अपराधमा संलग्न भएको र गणतन्त्र दिवसका दिन आममाफी पाएर जेलबाट छुटेको देखिएको छ,’ प्रहरी प्रवक्ता पण्डितले भने ।
सुवेदी पैसा दिन जाँदा समातिएका थिए थापा
थापा र सुवेदीको चिनजान पुरानो थियो । सुवेदीको औषधि पसलका ग्राहक पनि थिए थापा । उनले हिन्दी भाषामा बोलेर सुवेदीसँग रकम माग गरेका थिए ।
गत कात्तिक ८ गतेदेखि थापाले सुवेदीलाई निरन्तर फोन गरेर रकम मागेका थिए । कात्तिक १० गते फेरि फोन गरेर थापाले पैसा लिएर विभिन्न ठाउँमा आउन भने । पैसा जुटाउँदै छु भनेर टारे । फेरि ११ गते पैसा के भो भनेर थापाले सोधे । कात्तिक १२ गते पैसा जुटाएर दिने निश्चित भएपछि सुवेदीलाई थापाले नारायणगढको सब्जी मण्डीमा बोलाए ।
आफूलाई धम्काएको र रकम मागेको जानकारी सुवेदीले जिल्ला प्रहरी कार्यालयमा गराइसकेकाले प्रहरीले सुवेदीलाई निगरानी गर्दै हिँडिरहेको थियो । सब्जी मण्डीमा रकम नलिई थापाले बौद्ध गुम्बा बसेनी चोक नजिकै बोलाए । सुरुमा २५ लाख माग गरे पनि थापालाई २० लाखमा सुवेदीले राजी गराएका थिए ।
२० लाख बोकेर हिँडेका सुवेदीसँग फरक(फरक ठाउँ भन्दै पैसा ल्याउन भनेका थापाले प्रहरीलाई पनि सँगै ल्याए बाबु-छोरालाई नै ‘सुट’ गरिदिने धम्की दिए ।
कात्तिक १३ गते दिउँसो १२ बजे उनले सुवेदीलाई फोन गरी भरतपुर अस्पतालको नयाँ गेट अगाडि पैसा लिएर आउन भने । पैसा लिंदै गर्दा प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहको विषेश टोलीले थापालाई पक्राउ गर्न सफल भयो ।
सुवेदीले रकम माग्ने व्यक्ति थापालाई देख्दा आफू दंग परेको बताए । थापा आपराधिक गतिविधिमा संलग्न भएर जेल बसेको थाहा भए पनि आफूसँग ज्यान मार्ने धम्की दिएर अपहरण गर्छु भनेर रकम माग्ला भन्ने नसोचेको सुवेदी बताउँछन् ।
पटक(पटक आपराधिक गतिविधिमा संलग्न भई नौ वर्ष कैद सजाय पाएका थापा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद छुट पाई जेलबाट रिहा भएका थिए ।जेलबाट छुटेको पाँच महिना नपुग्दै अपहरण गरी ज्यान मार्ने धम्की दिने घटनामा थापा संलग्न भएका हुन् । प्रहरीका अनुसार उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ घर भई भरतपुर बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले यसअघि २०७५ मंसिर १३ गते उनीविरूद्ध डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्योभन्दा अगाडि २०७३ साल वैशाख २२ गते प्रहरी वृत्त सातदोबाटो ललितपुरले लागूऔषधसम्बन्धी र २०६६ असार ३ गते चितवन प्रहरीले अवैध हातहतियार देखाई डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्यस्तै, २०६६ जेठ २७ गते चितवन प्रहरीले नै उनीविरूद्ध चोरीसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।