बुटवल ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेसको लुम्बिनीमा हुने भ्रमणको तयारी पूरा भएको छ । मंगलबार विहान बुद्ध जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा महासचिव गुटेरेसको भ्रमण हुने भएको हो । लुम्बिनी विकास कोषले महासचिव गुटेरेसको भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेरेसको भ्रमणको सबै तयारी पूरा भएको बताए ।महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उनले बताए ।
‘महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय हो, गुटेरेसको भ्रमणले विश्वव्यापी रुपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ’ उनले भने । महासचिवलाई बुद्ध जन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिने सक्ने गरी तयारी गरेको उपाध्यक्ष डा.लामाले बताए । लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउँदै यो भ्रमणले लुम्बिनीको विकास र सम्बद्र्धनमा थप टेवा पुग्ने विश्वास गरेको उपाध्यक्ष डा। लामाले बताए ।
‘‘प्रधानमन्त्री ज्यूको निमन्त्रणामा नेपाल आउनुभएका महासचिवको लुम्बिनी भ्रमण हाम्रा लागि मात्रै नभई नेपालकै लागि गौरव हो, उहाँले यहाँबाट विश्व शान्तिका लागि सन्देश पनि दिनुहुनेछ’ उपाध्यक्ष डा.लामाले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत विशेष अनुरोध गरेकाले महासचिव गुटेरेससँगै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको जानकारी दिए ।
गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्य थप मजबुद हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति शहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने छ ।
कोषले परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिका अनुसार मंगलबार महासचिव गुटेरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
महासचिव गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, उपाध्यक्ष डा. लामा सहित सरकारी उच्चस्तरी अधिकारीहरुले स्वागत गर्नेछन् ।
महासचिव गुटेरेस मंगलबार विहान ८: ३५ मा भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा विहान ८: ५० बजे लुम्बिनीमा आइपुग्ने कार्यक्रम तय भएको छ । कोषका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्ति दीपदेखि मायादेवी मन्दिरको दुवै तर्फ बसेर स्वागत गर्नेछन् ।
गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि पिपलको रुखमुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीमा डेढ घण्टा बिताएपछि १०स् ३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ । महासचिव गुटेरेसले लुम्बिनीमा सालको रुख वृक्षारोपण गर्नेछन् । नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ । महासचिवको भ्रमणलाई लिएर कोषले सरसफाइ, स्वागत सत्कार जस्ता आवश्यक सम्पूर्ण तयारी पुरा गरेको योजना प्रमुख सरोज भट्टराईले बताए । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटेरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।
गुटेरेसको भ्रमण हुने भएपछि लुम्बिनीको चार नम्बर गेटबाट शान्तिदीप जाने बाटो कालोपत्रे गरिएको छ । लुम्बिनीभित्र सरसफाइ गरेर चिटिक्क पारिएको छ।भ्रमणलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
संयुक्त राष्ट्र संघका महासचिवको रुपमा लुम्बिनी भ्रमणमा गुटेरेस छैटौं व्यक्तिका रुपमा छन् । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ । यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन । तर, पनि उनीसहित गुटेरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्नेछन् ।