काठमाण्डौ । प्यालेस्टिन विद्रोहीको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली मध्ये तीन जनाको शव काठमाण्डौ आइपुगेको छ ।
इजरायलमा रहेको नेपाली दूतावासले चार वटा शव पठाएकोमा तीन वटा काठमाण्डौ आइपुगेका हुन् । एउटा दिउँसो एक बजे आइपुग्ने छ । ज्यान गुमाएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव नेपाल आइपुगेको हो । आशिष चौधरीको शव आज आइपुग्ने इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।
तीनवटा शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा राखेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले इजरायलमा रहेका बाँकी शव पनि पठाउने क्रममा रहेको बताउनुभयो । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गएको असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए ।आक्रमणमा १० जना नेपालीको ज्यान गएको पुष्टि भए पनि एक जना विपीन जोशीको अवस्था भने अझै अज्ञात छ । जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।