बझाङ
बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नं को जीप ब्रेक फेल भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक शाहले जानकारी दिए ।
गाडीमा चालक विनोद धामीसहित नौ जना सवार थिए । चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख शाहले जानकारी दिए ।