काठमाण्डौ ।
यस वर्षको हिउँदका शुरुवाती महिनामा औसतभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको आउँदो पुस १५ गतेसम्मको हावापानी आँकलनअनुसार देशभर औसतभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशका पूर्वी भाग, कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै भूभाग र मधेस प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशमा बाँकी भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यो अवधिमा तापक्रमसमेत बढ्ने आँकलन छ । देशका धेरैजसो भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ । अधिकतम र न्यूनतम दुवै तापक्रम बढी हुँदा औसतभन्दा बढी गर्मी हुन्छ । हावापानी आँकलन तयार गर्दा नेपालको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागर र हिन्द महासागरमा विकसित हुने प्रणालीको अवस्था तथा अन्तरऋतु परिवर्तनशीलताका कारकहरूलाई समेत मध्यनजर गरिएको विभागले जनाएको छ ।