काठमाण्डौ ।
यही असोज २२ गते सोमवारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा असोज २२ गतेदेखि दशैँको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज शुक्रवार भएको छलफलमा अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको बताउनुभयो । पुरानै भाडा दर कायम गरेर अग्रिम टिकट बुकिङ खुल्ने भएको हो ।
अघिल्ला वर्षमा दशैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलो भएको हो । दशैँका लागि काठमाण्डौ उपत्यकाबाट झन्डै २० लाख मानिस बाहिरिने अनुमान रहेको विभागले जनाएको छ ।