रुपन्देही ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा एक लाख ९२ हजार १८ वटा पशु लम्पी स्किन संक्रमित भएको । त्यस्तै ९ हजार ६११ पशु मरेको पशुपक्षी तथा मत्य विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक प्रवेशसिंह कुँवरका अनुसार अहिलेसम्म १ लाख १८ हजार १२९ पशुपक्षीको उपचार गरिएको छ । तराईमा भन्दा पहाडमा धेरै पशु मरेका छन् ।
प्रदेशको रोल्पामा सबैभन्दा धेरै ३ हजार ४९१ पशु मरेको उनले बताए । ३१ हजार २१८ पशुपक्षी संक्रमित भए पनि अहिलेसम्म १८ हजार १६६ पशुपक्षीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको निर्देशनालयले जनाएको छ ।
लम्पी स्किन रोगबाट दाङमा २९ हजार २११ पशु संक्रमित भएकोमा ७७६ वटाको मृत्यु भएको छ । त्यस्तै रुकुममा १४ हजार ४०९ संक्रमितमध्ये २ हजार ६२ पशु मरेका छन् ।
रूपन्देहीमा ७ हजार ९३४ संक्रमित भएकोमा ४४७ पशु मरेका छन् । ७ हजार ३३२ लाई खोप उपलब्ध गराइएको छ । बाँकेमा १५२ पशु मरेको छ । ४१ हजार ५२ पशु संक्रमित छन् । बर्दियामा १ हजार ७८ संक्रमितमध्ये १२५ पशुको मृत्यु भएको छ ।
यस्तै प्यूठानमा ३४ हजार ७२० संक्रमितमध्ये ८११ पशुको मृत्यु, अर्घाखाँचीमा ७ हजार २४१ संक्रमितमध्ये ३४२, गुल्मीमा ९ हजार ४४७ संक्रमितमध्ये ३९० पशुपक्षीको मृत्यु भएको छ । पाल्पामा ६ हजार ६७१ संक्रमितमध्ये ३६५ को मृत्यु, पश्चिम नवलपरासीमा ८९४ संक्रमितमध्ये ४१ पशुपक्षीको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै कपिलवस्तुमा ४ हजार २५, बाँकेमा ६ हजार २३७, बर्दियामा ५ हजार २२५, दाङमा ३ हजार ६००, रुकुम पूर्वमा १२०, प्यूठानमा ७४७, अर्घाखाँचीमा ४ हजार ४०९, गुल्मीमा ११ हजार १४९ र पाल्पामा २ हजार २६९ पशुपक्षीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।
प्रदेशका १२ मध्ये पश्चिम नवलपरासीबाहेक ११ जिल्लाका ७५ हजार ४२० पशुपंक्षीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।
निर्देशक कुँवरका अनुसार तीन महिनादेखि लम्पी स्किनविरुद्धको खोप लगाइरहेको र स्थानीय तहसँगको समन्वयमा खोप लगाएपछि अहिले धेरै पशुपक्षीमा रोग नियन्त्रण भएको छ ।
खोप लगाउन बाँकी पशुपंक्षीमा लम्पी स्किनविरुद्धको खोप लगाउने कार्य जारी रहेको उनले बताए ।कृषि क्षेत्रका जानकारहरुका अनुसार यो तथ्यांक सरकारी कार्यालयमा रेकर्ड भएकोमात्रै हो । सरकारी रेकर्डमा नपुगेका धेरै किसानले यो रोगबाट क्षति व्यहोर्नुपरेको छ ।
प्रदेश कृषि मन्त्रालयले यो रोगबाट प्रभावित पशुको संख्या र मरेका पशुको तथ्यांक निकाले पनि आर्थिक रुपमा कति क्षति भयो भन्ने तथ्यांक निकाल्न सकेको छैन । निर्देशक कुँवरका अनुसार यो रोग लागेका पशुको एकै मूल्य नहुने र स्थानीय तहबाट त्यो आउनुपर्ने भएकाले ढिलो भएको बताए ।