रुपन्देही ।
लुम्बिनी केबलकारको सेवा असोज १४ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ ।
केबलकारको नियमित मर्मत सम्भारका लागि असोज १४ गतेदेखि १७ गतेसम्म पूर्णरुपमा सेवा बन्द हुने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए ।
केबलकारमा कुनै प्राविधिक समस्या आएर नभई नियमित प्रक्रिया अन्तर्गत पहिलो पटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको सैजूले बताए । यो केबलकार अष्ट्रियाको डुपलमेयर कम्पनीको हो,जुन विश्वमै सवैभन्दा सुरक्षित र अत्याधुनिक प्रविधियुक्त मानिन्छ ।
तीन दिन सेवा बन्द हुँदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रूपमा सञ्चालनमा आउने अपरेसन म्यानेजर सैजूले जानकारी दिए ।
आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत गरी कूल ५ अर्ब लागतको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो ।
सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेका छन् ।