चेतन बिष्ट, कपिलवस्तु ।
मुटु रोग लगायत अन्य सर्ने तथा नसर्ने रोगहरुको जोखिमलाई न्युनीकरण नर्ग खानपान र जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भएको छ ।
आज विश्व मुटु दिवसको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान कपिलवस्तुले कपिलवस्तु सामुदायिक अस्पताल चारनम्बरमा आयोजना गरेको फलफुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
पछिल्लो समय नेपाल सहित विश्वभर नै मुटु रोगीहरुको सङ्ख्या तिव्र गतिमा बढिरहेको भन्दै हामि सबै यस्ता रोग लाग्न बाट बच्नुपर्ने बताउनु भयो । नेपालमा विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभाव र विकटताका कारणले उपचार पाउनबाट वञ्चित भएको भन्दै उक्त समस्या प्रति तिनै तहका सरकार गम्भिर हुनुपर्ने बताउनु भएको छ ।
देशमा नागरिकलाई सहज हुने ठाउँमा मुटु रोग उपचार सेन्टर नहुँदा पनि धेरै मुटु रोगीले अकालमै ज्यान गुमाउनु परेको भन्दै दुख समेत ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै मुटु रोग विशषज्ञ रोशन कुमार यादवले मुटुको रोग लाग्ने वैज्ञानिक कारक तत्त्वहरूमा मुख्यगरी धूपमान वा सूर्तिजन्य पदार्थ सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम, ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने बजारको पोके खाना खाने बानी, कम सुत्ने बानी लगायत रहेकोले हामि त्यस तर्फ निकै चनाखो हुन आवश्यक रहेको बताउनु भएको छ । उहाँले सम्भव भएसम्म वर्षमा २÷३ पटक सम्म आफ्नो स्वास्थ्य जाँच गर्दै विभिन्न परामर्श लिन समेत आग्रह गर्नुभएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष चन्द्रकान्त पोख्रेल, अस्पतालका कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने प्रतिष्ठानका सचिव माधव न्यौपानेले गर्नुभएको थियो ।