कपिलवस्तु, असोज ११ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न. २ मा रहेको जनता माध्यामिक विद्यालयका शिक्षक रोमनाथ बरालको सडक दुर्घटनामा मृत्यु भएको छ ।
बुधवार राति करिब १० बजेको समयमा सालझण्डी देखि आफ्नो घर पिपरा फर्कने क्रममा दुर्घटना भएको थियो ।पूर्वबाट पश्चिम तिर आँउदै गर्दा रोकी राखेको टिप्पर सँग ठक्कर खाएर बरालको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका उनलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल लगिएको र अस्पतालले जिल्ला अस्पताल तौलिहवा पठाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जिल्ला अस्पताल तौलिहवाले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जनता माविका शिक्षक रोमनाथ बराल विज्ञान विषयका संयोजक रहेका थिए । उनी अमेरिकाको बसाइ छोडेर करिब ६ वर्षदेखि जनता माध्यामिक विद्यालय पिपरामा अध्यापन गराउँदै आएका थिए ।