दाङ ।
लुम्बिनी प्रदेश सरकारले राउटे समुदायका मानिसलाई दसैं खर्च दिएको छ।
मंगलबार सरकारका तर्फबाट अर्थमन्त्री धनबहादुर मास्कीले उनीहरूलाई २५ हजार दसैं खर्च प्रदान गरेका हुन्।
केही दिनअघि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर राउटे समुदायका मानिसले दसैं खर्च उपलब्ध गराउन आग्रह गरेका थिए। आफूहरूले दसैंमा बली दिने र खसी बोकाको मासु पनि खाने हुँदा आफ्ना जनताको लागि आर्थिक सहायता गर्न उनीहरूले आग्रह गरेका थिए।
मंगलबार सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई अर्थमन्त्रीले उक्त रकम हस्तान्तरण गरेका हुन्।
रकम पाएपछि उनीहरू खुसी भएका थिए।