कपिलवस्तु।
आज थारु जातीहरुले बड्की अट्वारी पर्व धुमधामपूर्वक मनाउँदै छन् । यो पर्व थारु जातीको बाहुल्यता रहेका तराईका जिल्लाहरुमा हर्षेल्लासका साथ मनाइन्छ । आइतबार थारु समुदायका मानिसहरु एक आपसमा भेला भएर मिठामिठा परिकार, मिठाई आदि खाएर एक आपसमा शुभकामना साटासाट गर्ने गर्दछन् ।
थारु समुदायको लोकप्रिय चाड माघि पछि बड्की अट्वारीलाई लिने गरिन्छ । कपिलवस्तुमा पनि थारु समुदायमा यसको विशेष रौनक छ । बिभिन्न संघसंस्था तथा उद्योग धन्दामा काम गर्ने मजदुर तथा व्यक्तिलाई आज विदा दिने चलन छ । उनीहरु दिनभर बिभिन्न मिठामिठा भोजनहरु गरी साँझ धुमधामपूर्वक नाचगान गर्ने गर्दछन् ।
यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पक्षको तृतीय तिथिपछि पर्ने पहिलो आइतवारका दिन मनाइने गरिन्छ । एक हप्ताभित्र पर्ने सबै दिन कुनै न कुनै देवताको नामले चिनिन्छ । आइतवार सूर्य देवताको नामले चिनिन्छ । भाद्र शुक्ल पक्षको तृतीय तिथिपछि पर्ने पहिलो आइतवारलाई ठूलो आइतवारको नामले चिनिने धार्मिक मान्यता छ । त्यसैले यो ठूलो आइतवारका दिन व्रत बसी अटवारी व्रत पर्व मनाउने प्रचलन भएकोले यो पर्वलाई बड्का अटवारी व्रत पर्वको रुपमा चिनिने गरिएको छ ।
थारु समुदायले आइतबार मनाउने बड्की ‘अटवारी’ पर्वमा कपिलवस्तुको वाणगंगा नगरपालिका सहित विभिन्न पालिकाले मातहातका कार्यलयहरु आइतबार स्थानीय बिदा दिएका छन् ।